औषधि सिफारिसमा ‘जेनेरिक’ नाम लेख्न नागरिक अभियानको खबरदारी

  • चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिसमा ‘जेनेरिक’ नाम प्रयोग नगरे कानुनी कारबाहीको प्रक्रियामा जाने ‘नीतिगत सुधारका लागि नागरिक अभियान’को चेतावनी
  • नागरिक अभियन्ताहरूले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले औषधि सिफारिस गर्दा अनिवार्य रूपमा ‘जेनेरिक’ नाम लेख्न माग गर्दै निवेदन दिएका छन्।
  • अभियानले कम्पनीको ट्रेड नेममा औषधि सिफारिस गर्दा बिरामीमा आर्थिक बोझ बढ्ने र स्वास्थ्य अधिकार हनन हुने भन्दै सुधारको माग गरेको छ।
  • प्रतिष्ठानले नीति सुधारका लागि कदम चालिरहेको जनाएको छ भने जेनेरिक औषधि प्रणाली कार्यान्वयनमा प्रशासनिक कडाइ गरिने बताइएको छ।

यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नागरिक अभियन्ताहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम लेख्ने व्यवस्था तत्काल लागू गर्न माग गर्दै निवेदन दिएका छन् । नीतिगत सुधारका लागि नागरिक अभियानले मंगलबार प्रतिष्ठानका निर्देशक डा.प्रेमराज पंगेनीलाई निवेदन बुझाउँदै ‘चिकित्सकले कम्पनीको ‘ट्रेड’ नाम प्रयोग गरेर औषधि सिफारिस गर्ने प्रवृत्तिले कानुन, आचारसंहिता र जनस्वास्थ्यको मर्म उल्लंघन भएको भन्दै सुधारका लागि मागपत्र बुझाएको हो ।

अभियानले प्रस्तुत गरेको निवेदनमा जनस्वास्थ्य सेवा ऐन २०७५, नेपाल मेडिकल काउन्सिलको आचारसंहिता, र त्रिवि शिक्षण अस्पतालले जारी गरेको परिपत्र लगायतका कानुनी आधार उल्लेख गर्दै चिकित्सकहरूले अनिवार्य रूपमा औषधिको जेनेरिक नाम लेख्नुपर्ने व्यवस्था स्पष्ट भएको जनाएको छ । तर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका सरकारी संस्थानमा अझै पनि चिकित्सकहरू कम्पनीको ‘ट्रेड नेम’ लेख्ने प्रवृत्ति नरोकिएको अभियानका संयोजक गणेशबहादुर थापाले बताए ।

‘निम्न र मध्यम वर्गका नागरिकलाई सेवा दिने सरकारी अस्पतालमै चिकित्सकले महँगा कम्पनीका औषधि सिफारिस गर्दा जनताको स्वास्थ्यमा ठूलो आर्थिक बोझ परेको छ,’ उनले भने, ‘यो कार्यले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता घटाएको छ र नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार हनन भएको छ ।’

निवेदनमा औषधि कम्पनी र चिकित्सकबीचको सम्बन्धले बिरामीको हितभन्दा नाफा अभिप्रेरित औषधि सिफारिस बढाएको आरोप अभियानको छ । ‘बिरामीले सस्तो र गुणस्तरयुक्त औषधि रोज्न पाउने स्वतन्त्रता हराएको छ,’ निवेदनमा भनिएको छ, ‘सरकारी फार्मेसीमै उपलब्ध औषधि नपाएर विमित बिरामी महँगा निजी फार्मेसीबाट औषधि किन्न बाध्य छन् ।’

अभियानले प्रतिष्ठानलाई फार्मेसीमा बिक्री हुने औषधिको मूल्यसूची सार्वजनिक गर्न र नागरिकलाई सहज जानकारी हुने व्यवस्था गर्न पनि अनुरोध गरेको छ । औषधिको गुणस्तरबारे शंका लागेमा परीक्षणका लागि अभियानमा सूचना दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ ।

नागरिक अभियानले निकट भविष्यमा जेनेरिक औषधि सिफारिस प्रणाली कार्यान्वयनको निगरानी गर्ने र कानुन उल्लंघन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध कानुनी कदम चाल्ने अभियानका संयोजक थापाले चेतावनी दिए ।

निवेदन बुझ्दै प्रतिष्ठानका निर्देशक डा.प्रेमराज पंगेनीले अभियानको प्रयासको प्रशंसा गर्दै नीति सुधारका कदम अघि बढाइरहेको बताए । ‘औषधिको विषय निकै संवेदनशील हो,’ उनले भने, ‘यसमा सुधार ल्याउन नागरिक अभियानको प्रयास प्रशंसनीय छ ।’ उनका अनुसार प्रतिष्ठानले चिकित्सकलाई जेनेरिक नाममै औषधि सिफारिस गर्न अनुरोध गर्दै आएको छ । ‘हामीले चिकित्सकलाई पटक–पटक मिटिङमार्फत जेनेरिक नेममा लेख्न आग्रह गर्दै आएका छौं । बिमाका बिरामीहरू बढी हुने भएकाले ट्रेड नेम इन्टरटेन नै हुँदैन,’ उनले भने ।

अस्पतालले औषधि टेन्डरमार्फत लिने हुँदा सबै डीडीएमा दर्ता भइसकेका र गुणस्तर सुनिश्चित औषधि मात्रै खरिद हुने बताउँदै उनले भने, ‘कम गुणस्तरको औषधि भन्ने कुरा मान्य नै हुँदैन । डीडीएले मान्यता दिएको औषधि नै क्वालिटीको हो ।’

उनले हाल बीमा कार्यक्रमको सर्भर प्रणालीमा देखिएको प्रविधिक समस्या, अस्पतालको पूर्वाधार अभाव र भवन निर्माण ढिलाइका कारण सेवा प्रवाहमा कठिनाइ रहेको पनि बताए । ‘हामीले बीमाको सर्भर समस्या समाधानका लागि बोर्डमा पटक–पटक आग्रह गरिरहेका छौं,’ उनले भने, ‘जेनेरिक औषधि प्रणाली लागू गर्न र बिरामीलाई सस्तो र गुणस्तरयुक्त औषधि दिन अब प्रशासनिक रूपमा पनि कडाइ गरिनेछ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.प्रेमराज पंगेनीलाई मागपत्र बुझाउँदै नीतिगत सुधारका लागि नागरिक अभियानको टोली । 

समन्धित समाचार​
बिजनेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.